पुस २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।
सोमबार वडा नं. ७ स्थित शुक्रबारेमा निर्माण सम्पन्न आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेको हो । स्वास्थ्य केन्द्रको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारीले रिवन काटेर उद्घाटन गरेका थिए ।
यस अघि वडा नं. ७ को वडाकार्यालयमै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिदै आएका थिए । शौचालय र बाथरुम सहितको एक तले तीनकोठाको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न पछि संचालनमा ल्याएको हो । त्यहाँबाट वडाको जनताहरुलाई स्वास्थ्य सेवा दिन सुरु गरेको गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताए । विरामी चेकजाँच गर्ने कोठा, गर्भवती चेकजाँज र स्टोर रुम गरी तीनवटा कोठा रहेको छ ।
वडा नं. ६ को १९ लाख ३७ हजार ७ सयमा भवन निमार्ण सम्पन्न गरेको हो । आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि मेघराज सुवेदीले १४ धुर, जीतबहादुर थामी १४ धुर, दुर्गा बहादुर लिम्बुले १२ धुर, मानबहादुर थापा ८ धुर र चक्रबहादुर कटुवालले १ कट्ठा ७ धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको लागि जग्गा दाताहरुलाई सोमबार गाउँपालिकाले सम्मान पत्र र दोसल्लाहले सम्मान गरेका थिए । सम्मान तथा उद्घाटन कार्यक्रममा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, जिन्सी शाखा अधिकृत यादव निरौला, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी लगाएत वडाका वडासदस्यहरु उपस्थित रहेका थिए ।