पथरी शनिश्चरे नगरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

 

१९ माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा ५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वडा नं. १ मा रहेको पञ्चायत नमूना माध्यामिक विद्यालयको प्राङ्गणमा सुरू भएको छ ।

विहिबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पथरीशनिश्चरे नगर स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गरेको हो । नगरप्रमुख तुम्वापोले नगरपालिका भित्रका सम्पूर्ण संस्थापक र सामुदायिक विद्यालयका सहभागि छात्रछात्राहरुले अनुशासित र खेलको नियम अनुसार आफूले रोजेको विभिन्न खेलहरुमा सहभागिता लिई पढाईसँग सँगै खेल क्षमता बृद्धि गर्दै भविष्यमा व्यवसायिक खेलाडीको रूपमा स्थापित हुन समेत शुभकामना व्यक्त गरे । साथै, उनले खेल व्यवस्थापनका लागि संलग्न सम्पूर्णलाई सफलतापूर्वक विभिन्न खेल प्रतियोगिताहरूको संचालन गर्न पनि अनुरोध सहित निर्देशन गरे ।

कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य शालिग्राम काफ्ले, शाखा अधिकृत नवीन खुलाल, पञ्चायत माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बाँस्कोटा, प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठ, गणेश खड्का, प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बु, एनप्याब्सन पथरी शनिश्चरे नगर समिति अध्यक्ष थिरप्रसाद आचार्य, विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय झण्डा बोकेर विभिन्न विद्यालयहरुका विद्याथीहरूले मार्च पास गरेका थिए भने पञ्चायत माविका सिभिल इन्जिनियरिङ विधाका छात्रछात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
उद्घाटनका दिन रनिङ, भलिबल, कराँते, छेलो, सटपुट, कबड्डी, लगायतका विभिन्न खेलहरू संचालन गरिएको थियो ।

तीन दिन चल्ने प्रतियोगितामा १५ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले विभिन्न खेलहरूमा भाग लिएका छन् ।

पञ्चायत नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले कार्यक्रम संचालन गरेका थिए भने वडा नं. १ का वडा अध्यक्ष तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद व्यवस्थापन समिति सदस्य भीमकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर