६ असोज, उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा खेमराज कार्कीलाई निरन्तरता दिइएपछि आन्दोलित बनेका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
आइतबार बिहान अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीले तालाबन्दी गरेको हो ।
अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटी निकट विद्यार्थीले कार्कीलाई क्याम्पस प्रमुख पदमा राख्न नहुने भन्दै आन्दोलित बनेका थिए । आन्दोलित विद्यार्थीले प्रसाद क्याम्पस प्रमुखको नाम प्लेट समेत जलाएका थिए ।
अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष गौतमबुद्ध तामाङले संचालक समितिले शनिबारको निर्णय नसच्याएसम्म आन्दोलन जारी जारी राख्ने बताएका छन । उनले सो निर्णय नसच्याएसम्म दैनिक चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै गरिने बताएका छन ।
उनले क्याम्पस प्रमुख पदमा सामाजिक रुपमा नैतिक पतन भैसकेको ब्यक्तिलाई पदबाट बर्खास्त गर्नुपर्ने भन्दै विद्यार्थीहरुको भावना अनुरुप नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिनुपर्ने माग रहेको बताएका छन । क्याम्पस प्रमुखमा कार्कीको निरन्तरताको विरोध गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमाले उर्लाबारीले शनिबार प्रेस विज्ञप्ति निकालेका थिए ।
विद्यार्थीहरुले आन्दोलन गरि तालाबन्दी गरेका बखत क्याम्पस प्रमुख कार्की भने अनुपस्थित भएका थिए ।