बुधबार, बैशाख ९, २०८३

कानेपोखरीमा ‘जनसेवा एलामुनाइ कप’ भलिबल प्रतियोगिता हुदै

७ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–६, रमाइलोस्थित जनसेवा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था जनसेवा एलामुनाइ एसोसिएसनको आयोजनामा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

एसोसिएसनले स्थानीय स्तरमा खेलकुदको विकास र पूर्व विद्यार्थीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले ‘जनसेवा एलामुनाइ कप’ अन्तर–माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एसोसिएसनका अनुसार प्रतियोगिता आगामी बैशाख २५, २६ र २७ गते जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने जनाएको छ ।

एसोसिएसनले वि.सं.२०३६ देखि २०८२ सम्मका एस.एल.सी./एस.ई.ई. ब्याच र २०५९/६१ देखि २०८२ सम्मका कक्षा १२ का पूर्व विद्यार्थीहरूलाई यस प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन आर्थिक सहयोगको पनि अपिल गरेको छ ।

एसोसिएसनका अध्यक्ष राजकुमार बरालले प्रतियोगिता हामी सबैको साझा गौरवको विषय हो । तसर्थ, सबै ब्याचका साथीहरूलाई आर्थिक सहयोग साथै खेल अवधिभर उपस्थित भएर आफ्ना सहपाठी र खेलाडीहरूको हौसला बढाइदिनुहुन अनुरोध गरेका छन् ।

कानेपोखरी गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कक्षा १० सम्म नियमित अध्ययनरत विद्यार्थीहरू र २०८२ सालको एसइइ परीक्षामा सामेल भएका विद्यार्थीहरूले भलिवल प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

एक टिममा बढीमा ८ जना खेलाडी हुनेछन् । छात्र वा छात्रा दुवै टिम, वा छात्र/छात्रा मध्ये कुनै एक टिमले सहभागिता जनाउन सक्नेछन् । छात्रा टिम सहभागी हुने भएमा कम्तीमा १ महिला शिक्षकसहित २ जना शिक्षक अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.