बैशाख ६ गते, पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका कार्यालयले लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको र अन्य पालिकाहरुले पनि आआफ्नो पालिकामा लकडाउनलाई थप प्रभावकारी बनाउने योजना बनाएपछि पथरीशनिश्चरेले पनि कडाई गर्ने भएको नगर प्रमुख दिलीपकुमार राईले जनाए ।
उनले कोरोना सर्न सक्ने माध्यममध्येको तरकारी तथा फलफुल अन्य पालिकाबाट आउन नदिने तथा आवतजावतमा पनि कडाईका साथ रोक लगाएर आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाहमा लागि परेको वताए । अन्य देश तथा अन्य पालिकाबाट यातायातका साधन भित्रिन नदिई कडाईका साथ रोक लगाइने उल्लेख गरे ।
उनले कडाईका साथ लकडाउन गर्नु बाहेकको हाल विकल्प नभएकाले सोही अनुरुप नगरवासीलाई घरभित्रै बस्न पुन आग्रह गरे । नगरभित्रै उत्पादित सागसब्जी अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर कृषक समूह तथा कृषक सहकारीमार्फत विक्री वितरण गर्न थालिएको पनि बताए ।
भारतमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतीय सीमा क्षेत्र नजिक पर्ने आफ्नो नगरका साथै अन्य सिमावर्ती नगरहरुले पनि यसबेला ज्यादै सजकता अपनाउनु पर्ने उनको धारणा छ । सुरक्षाकर्मीलाई पनि लकडाउनमा कडाई गर्न नगरपालिकाले जानकारी गराएको छ ।