भदौ ८ गते, पथरी । समुदायस्तरमा कोरोना भाइरस फैलिए पछि अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण वन्दको आव्हान गरेपछि आज पनि पथरीशनिश्चरे नगरपालिकाले बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन् सदस्यहरु यामप्रसाद गुरागाईं, निर्मला गदाल सहित नगर प्रहरीको टोलीले पूर्णरुपमा लकडाउन सहित नगर शिल गरिएको अवस्थाका बारेमा विभिन्न वडामा अनुगमन् गरेको छ ।
टोलीबाट वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, बोक्रेको सेल्फीरोड, ३ को त्रिवेणीचोक, आइतबारे, पिपलचोक, सुन्दरीचोक क्षेत्रको अनुगमन् भएको छ । यसैगरी, ५ र ६ नम्बरको हसन्दह बजार, ५ को सुगाहाट बजार, भेटघाट चोक, ७ को किरात चोक सहितका ठाउँको अनुगमन् गरिएको छ । हिजो अन्य वडाका विभिन्न ठाउँमा अनुगमन् गरिएको थियो ।
ती क्षेत्रमा फाटफुट रुपमा खुलेका पसल, होटल बन्द गराइएको छ । सडकमा हिँडडुल गर्नेहरुलाई घरमै सुरक्षित बस्न र मास्कको अनिवार्य प्रयोग गर्दै सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।पथरी चोकका केही बैंक तथा बिमा कम्पनी खुलेको पाइएकोले उनीहरुलाई पनि बन्द गराइएको छ । सिटी सफारी, मोटरसाइकल तथा पैदल हिँडडुल गर्नेहरुलाई समेत सचेत गराइएको छ । इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीले समेत विभिन्न ठाउँमा लकडाउनको अनुगमन् गरिरहेको छ । वडाका जनप्रतिनिधिहरुबाट समेत अनुगमन् गरिएको छ ।
अनुगमनका क्रममा नगर उपप्रमुख वास्तोलाले दक्षिणको छिमेकी पालिका सुनवर्षीकी उपप्रमुख मञ्जुकुमारी राईसँग समेत सम्पर्क गरी आआफ्नो नगर क्षेत्रमा आपसी समन्वय गरी कडाईका साथ लकडाउन गरेर कोरोनाको संक्रमणबाट बच्नु आवश्यक रहेको बताए ।