माघ १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले घर नक्सा सम्बन्धी कार्यविधि पारित गर्नुका साथै विभिन्न बुँदाहरुमा निर्णय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले नक्सा पास नभइ पहिले नै बनेका घरहरुको अभिलेखिकरण गर्नका लागि घर नक्सा कार्यविधि पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
बैठकले, नगरका हाट बजारलाई ठेक्का लगाउने तथा पथरी बजारस्थित नगरको सपिङ कम्पेक्स निर्माणस्थलमा रहेका व्यवसायीहरुलाई १ नम्बर वडा समितिको समन्वयमा बजारको पिपलबोट क्षेत्रमा व्यवस्थापन गरिने निर्णय समेत भएको उनले बताए ।
भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप लगत संकलन कार्य अघि बढाउने र मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य तोकिए बमोजिम सम्पन्न गर्ने पनि निर्णय भएको छ ।