कानेपोखरी गाउँपालिकाद्धारा विपन्न बस्तीमा सोलार प्यानल जडान

मंसिर १९ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले वडा नंं.२ स्थित प्रधान टोलका  ६ घरपरिवारलाई सोलार प्यानल जडान गरिदिएको छ ।

बत्तीको टुकीको सहारामा बस्दै आएको ६ परिवारको घर र कोठा उज्यालो बनाउनको निम्ती सोलार प्यानल जडान गरिएको हो । दुई देखी तीन वटा बत्ती बाल्ने गरी २० भोल्टको सोलार प्यानल जडान गरिएको छ । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी र वडा नं. २ वडाध्यक्ष सुशिल बुढाथोकीको उपस्थितमा सोलार प्यानल जडान गरिएको हो ।

त्यस स्थानमा गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत ६ वटा आकर्षक घर निर्माण गरी घरविहिनहरुलाई असोज ४ गते हस्तान्तरण गरेको थियो । घर हस्तान्तरण गर्दा बत्तिको व्यवस्था थिएन । अहिले त्यहाँ आवश्यकता भएर सोलार प्यानल जडान गरिदिएको गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताए ।

त्यहाँ वडा नं. २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, वडा नं. ५ का कोपिला सार्की र डम्बर बहादुर माझीले आवास(घर) पाएर बस्दै आएका छन् ।

यस आर्थिक बर्षमा १० देखी २० वटा सम्म घर निर्माण गरी गाउँपालिका क्षेत्र भित्रका आवासविहिन परिवारलाई राखिने गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी बताउँछन् ।

आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट टेन्डर लगाई भ्याट बाहेक ३० लाख ३२ हजार ४ सयमा ६ वटा घर निर्माण सम्पन्न भएको र एउटा घरलाई निर्माण सम्पन्न गर्न ५ लाख १० हजार ४ सय लागेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताए ।

पालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा जनता आवास कार्यक्रम अन्तरगत रकमले वडा नं. २ स्थित प्रधान टोलमा रहेको रुद्रबहादुर बस्नेतको १ विगाह १ कट्टा १२ धुर जग्गा खरिद गरेको थियो । उत्तरदक्षिण २० फुटे बाटोले छोएको र विजुलीको सुविधा भएको वडा नं. २ को वडा कार्यालयदेखि ७ सय मिटर पश्चिममा पर्ने जग्गा ५४ लाखमा खरिद गरेको उतिखेर वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । २०७४/०७५ मा जनता आवास कार्यक्रम अन्तरगत ४० लाख रुपैया रकम छुटिएपनि नीतिगत व्यवस्थापन गर्न नसक्दा जग्गा खरिद गर्न सकेका थिएन ।

खोलाको धार र बाटोको छेउमा बस्ने जग्गा नभएको अहिले वडा नं. २ मा मात्र ४२ घर सुकुम्बासीको पहिचान भएको छ । जनता आवास भित्र बालबिकास केन्द्र र बृद्धाआश्रम पनि निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर