पूर्वाञ्चल विश्वविद्यालयका ७ हजार ८ सय ५६ जना विद्यार्थी दीक्षित

१४ बैशाख, विराटचोक । पूर्वाञ्चल विश्वविद्यालयको १२ औं दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८ सय ५६ विद्यार्थी दीक्षित भएका छन ।

शुक्रबार आयोजित दीक्षान्त समारोहमा शिक्षाशास्त्र संङ्कायतर्फ स्नातक तहमा ६ सय ३६ र स्नातकोत्तरतर्फ १ सय ६७, कला संङ्काय स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको हो ।

त्यस्तै कानुन संङ्काय स्नातकतर्फ २ सय ६४ र स्नातकोत्तर १ सय ७, व्यवस्थापन संङ्काय स्नातक तहतर्फ १ हजार ५ सय ४२, स्नातकोत्तरतर्फ ७ सय ६० र एमफिल तहका ३ जनालाई उपाधि प्रदान गरिएको थियो । विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि संङ्काय स्नातकतर्फ ६ सय ३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । साथै इञ्जिनियरिङ संङ्काय स्नातकतर्फ ८ सय ९२, स्नातकोत्तरतर्फ १ सय ८ जनालाई दीक्षित गरिएको थियो ।

चिकित्साशास्त्र संङ्काय स्नातकतर्फ २ हजार ४ सय ६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा २ हजार ४ सय ७८ जनालाई उपाधि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ट विद्यार्थीहरुलाई उपाधि प्रदान गरेका थिए । प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु।’

कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्व बोकेको बिराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने पनि जनाए ।

समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद तथा पूर्वराजदूत केदारभक्त माथेमाबाट दीक्षान्त अभिभाषण भएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति डा.शैलेषमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लीएको बताए ।

‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’ मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लीएको उनले उल्लेख गरे । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञान लगायत कोर्सको अध्यापन भइरहेको छ ।

 

सम्बन्धित खवर