बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु

फागुन १८ गते, बेलबारी । मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेको हो ।

कार्यक्रम उद्घाटन हुनुअघि विभिन्न जातजातिहरुले झाँकी सहित बेलबारी बजार परिक्रमा गरेका थिए । विभिन्न जातिय रितिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजा सहित पुरानो बेलबारीबाट शुरु भएको जातजातिको झाँकी बजार परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले झाँकी प्रदर्शन गरेका थिए ।

‘आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गरौं, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौं’ भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश १ का प्रदेश सभाषद राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ संस्था र दलका प्रतिनिधि र बेलबारी नगरका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवमा आयोजक आदिबासी जनजाति महासंघमा आवद्ध १६ वटा जातजाति तथा आर्य, शिल्पी समुदायका समेत २१ वटा स्टलहरु निः शुल्क रहेको र अन्य ३४ स्टल सहित जम्मा ५५ स्टलहरु रहेको छ ।


महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई निःशुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप प्रत्येक जातीलाई ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राइले कार्यक्रममा बताए ।

महोत्सव मार्फत जात जातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारहरुको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ । महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले जनजाति एबम पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय बिकासमा लगाउन प्रोत्साहन गरिने बताएका छन् । त्यसैगरी जातजातिको मौलिक खानपिनलाई आर्गा्निक बनाउने र त्यसलाई ब्यवसायिक बिकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको अध्यक्ष राईले बताए ।

महोत्सव अबधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु रहने आयोजकले बताएका छन् । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारहरुले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राई, पार्वती राई, कृष्णभक्त राई, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल, रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

उद्घाटनको दिन कृष्णभक्त राई, सत्यकला राई, रुपकुमार राई, भीषण मुकारुङ लगायतका कलाकारहरुको प्रस्तुति रहेको छ । आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहेका छन् ।

महोत्सवलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । महोत्सवमा एनएमबी बैंक, बेतना सिमसार, कानेपोखरी बी एण्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी प्रायोजक छन् । बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रबदर््धक छन् । महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरु एजुकेसन पार्टनर छन् । महोत्सवका लागि सामुदायिक वन तथा स्थानीय संघ संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित खवर