लकडाउन कडाई गर्न बजार र योजनाको अनुगमन्

जेठ ७ गते, पथरी । कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले मोरङको पथरीशनिश्चरे नगरले बन्दाबन्दी (लकडाउन) कार्यलाई कडाई गर्न अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यामुना विष्ट वास्तोलाको नेतृत्वमा वडा नम्वर १ को पथरीबजार तथा ४ र ९ मा पर्ने शनिश्चरे बजार क्षेत्रको अनुगमन् गरिएको हो ।

मंगलबार कार्यपालिका बैठकको निर्णय अनुरुप केही दिनका लागि औषधि पसल, अस्पताल बाहेकका सम्पूर्ण पसल वन्द गर्न सूचना गरिएको अवस्थामा केही पसल खोलिएको पाइएपछि त्यस्ता पसल बन्द गराइएको उपप्रमुख वास्तोलाले बताए ।

प्राविधिक सहित योजनाको अनुगमन्
उपप्रमुख एवम् अनुगमन् समिति संयोजक वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले कोरोनाबाट जोजिने स्वास्थ्य सतर्कता अपनाउँदै सम्पन्न भएका योजनाहरुको मंगलबार नै अनुगमन् गरेको छ ।

टोलीले वडा नम्वर ४ को गुरागाईंको घरबाट शान्तिचोक पोखरेलको घर दक्षिण बर्गचोक र सन्देशचोकको ग्राभेलिङ कार्यको अनुगमन् गरेको छ । त्यहाँ प्रदेश सरकारको सांसद कोष अन्तर्गतको योजनाका रुपमा २२ लाख ६८ हजारको बजेटमा १ किलोमिटर ९ सय ५० मिटर लम्वाई र ५ मिटर चौडाईको ग्राभेलिङ कार्य सम्पन्न भएको हो ।

त्यसैगरी, समितिले वडा कार्यालयको १३ लाख रुपैयाँको स्टिमेटमा निर्माण सम्पन्न भएको ३ नम्वर वडाको फायरलाइनबाट पिपलचोकहुँदै भोटेघुम्ती नमूना सडकको पनि अनुगमन् गरेको छ । त्यहाँ, १ किलोमिटर २ सय मिटर लम्वाई र ५ मिटर चौडाईको सडक ग्राभेलिङ भएको छ ।

वडाको ८ लाख रुपैयाँ बजेट स्टिमेटमा १ नम्वर वडाको साकेलाथानमा तारजाली सहितको वाल निर्माण कार्यको पनि अनुगमन् भएको छ । साथै सोही वडाको सुनाखरी माध्यामिक विद्यालयको मैदानमा माटो पुर्ने कामको पनि अनुगमन् गरिएको छ । त्यहाँ वडाको १ लाख ५० हजार रुपैयाँ बजेट स्टिमेटमा काम सम्पन्न भएको छ ।

हिजो वडा नम्वर ५ स्थित मौलिबारीमा मौलिबारी हुँदै राजघाट जोड्ने मुल सडकको ग्राभेलिङ कार्यको समेत उसैगरी अनुगमन् भएको थियो । त्यहाँ वडाको ६ लाख रुपैयाँ बजेट स्टिमेटमा ७ सय ४० मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको सडक ग्राभेलिङ भएको छ ।

सम्बन्धित खवर