मोरङ क्याम्पसको ६९ औं स्थापना दिवश, पाँचजना सम्मानित

साउन १७, विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवसमा उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित गरेको छ ।

मंगलबार भएको कार्यक्रममा सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा.शशितकुमार यादव र विजयहरि खतिवडा रहेकाछन् । यस्तै कर्मचारीद्वय अनिल कर्ण र दामोदर कोइराला सम्मानित भए । उनीहरुलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिनाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राडा कृष्ण पोखरेल, क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना, सहायक प्रमुखत्रय शिवनारायण चौधरी, डा.सुशील अधिकारी र उमेश यादव, प्राध्यापक संघका एकाई अध्यक्ष डा.प्रमोद खेरवारले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राडा पोखरेलले विश्वविद्यालयको पढाइमा गुणस्तर भए र सरकारद्वारा सहज रोजगारको व्यवस्था भए युवाले पढ्न र रोजगारीको लागि विदेशिनु नपर्ने बताए । उनले मोरङ क्याम्पसमा नै आफूले पढेको र प्रारम्भिक कालमा प्राध्यापन पनि गरेकोले त्यसबेला वार्षिकोत्सव भव्य हुने गरेको स्मरण गराए ।

सो अवसरमा सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले महेन्द्र मोरङ क्याम्पसकको इतिहास बारे जानकारी गराएका थिए । पुरस्कृत व्यक्ति छनोट समितिका सदस्य डा. मोहन सुवेदीले उत्कृष्ट प्राध्यापक र कर्मचारी छनोट गर्ने कार्य समितिले निष्पक्ष रुपमा सम्पन्न गरेको बताउँदै क्याम्पसको विकास र प्राज्ञिक उन्नयनको लागि प्राध्यापक र कर्मचारी सबैको भूमिका महत्वपूर्ण भएको बताए ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस २०१२ साउन १६ गते स्थापना भएको र सोही मितिको आधारमा विगत पाँच वर्षदेखि सो क्याम्पसले साउन १६ गते स्थापना दिवस उत्कृष्ट प्राध्यापक र कर्मचारी सम्मान गरी मनाउँदै आएको छ ।

 

 

 

सम्बन्धित खवर