विभिन्न संस्कृतिक कार्यक्रमसहित नयाँ विद्यार्थीको स्वागत

भदौ १८, विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट कलेजमा भर्ना भएका नयाँ विद्यार्थीको एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ । विराटनगर ग्रोगाहा चोकस्थित कञ्चनजङ्घा ब्यांक्वेटमा आयोजना भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रम , क्यारिकेचरलगायतका प्रतिभा प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीको स्वागत गरेका हुन् ।

कार्यक्रममा आधा दर्जन भन्दा बढी नृत्य , एकल गायन , सामूहिक गायन, बाध्यवादनको प्रस्तुतिले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंकप्रसाद गौतमले भविष्यको लक्ष्य प्राप्तिका लागि आधार तयार गर्ने कक्षा ११ र १२ रहेको भन्दै यो बेला सहि निर्णय लिन सुझाव दिनु भयो । उनले हरेक क्रियाकलापमा सहभागितामूलक उपस्थिति विद्यार्थीको हुनुपर्नेमा जोड दिए ।

गौतमले अबको दुई दशकपछि देशका सम्पूर्ण संयन्त्रको नेतृत्वमा आजको पुस्ता पुग्ने भन्दै आफ्नो लक्ष्य पहिचान सहित अघि बढ्न उत्प्रेरित गरेका थिए ।

त्यस्तै, कलेजका प्रिन्सिपल टिकाराम पुरीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै समय अनुसारनै आफुलाई तयार गर्ने गरि अघि बढ्न सुझाव दिए । विद्यार्थीको चाहना र युग अनुसारको शैक्षिक वातावरण एभरेष्टमा रहेको भन्दै उनले बाँकी विद्यार्थीको मेहनतमा समेत भर पर्ने बताए ।

एभरेष्ट कलेजका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल नारायण कडरिया , कलेजका विभागीय प्रमुखहरु , शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर