कानेपोखरीमा करार सूचीका शिक्षकलाई छल्दै राहत अनुदानको परीक्षा

पुस ११, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित पञ्चकन्या आधारभूत विद्यालयले करार सूचीमा रहेको शिक्षकलाई छल्दै परीक्षा सम्पन्न गरेको छ ।

गाउँपालिकाले प्रा.वि. तृतीय राहत अनुदानको पदमा करार सूचीमा रहेका पालिका भित्रका शिक्षकहरुलाई छल्दै परीक्षा पुस ९ गते सोमबार लिएको हो । जिल्लाको करार सुचि नम्बर ११६ मा रहेको वडा नं. ३ का नवराज सुवेदी, वडा नं. ३ कै २९ नम्बरका करार सूचीका युवराज सापकोटा, वडा नं. ५ का २८ नम्बर करार सूचीमा रहेका तेइन्द्र कुमार बास्तोला, वडा नं. ७ का ९१ नम्बर करार सूचीका विना कुमारी बुढाथोकी र वडा नं. ७ कै ७२ करार सूचीमा रहेका सिता देवी खड्का लगाएत शिक्षकलाई बन्चित गराएर गाउँपालिकाले परीक्षा लिएको पाइएको हो ।

शिक्षा नियमावलीमा यस्तो व्यवस्था छ
शिक्षा नियमावलीको उपनियम १ मा आयोगबाट प्रकाशित सूचीमा करारका लागि हुने उम्मेद्वार नरहेमा वा सूचीमा समावेश भएका उम्मेद्वारको शिक्षक पदमा नियुक्ति हुन निवेदन नपरेमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।

शिक्षा नियामवलीमा व्यवस्था नभएको नियमलाई विद्यालयले २ महिना अघि विज्ञापन गर्दा विज्ञापन प्रकाशन गरेको मितिले करार सूचीका उम्मेदवारलाई ७ दिन भित्र कार्यालयमा सम्र्पक गर्न र करार सूचीका नआए मात्र अन्यले आवेदन दिन पाउने विज्ञापन गरेको थियो ।

विद्यालयले २ महिना पछि पुस ९ गते सोमबार मात्र परीक्षा गराएका छन् । विद्यालयले प्रा.वि. तह तृतीय श्रेणी राहत अनुदान कोटाको गरिएको विज्ञापन मिति २०८० कात्र्तिक १० गते प्रकाशनको मिति लेखिए पनि त्यहाँ करार सूचीको उम्मेद्वारलाई छल्दै मिति २०८० कात्र्तिक १६ गते बेलुका मात्र प्रकाशन गरिएको तथ्य पनि फेला परेको छ ।

विद्यालयका प्रधानाध्यापक भरत राजवंशीले आफ्नो फेसबुक र कानेपोखरी स्तरीय प्रधानाध्यापकहरुको फेसबुक ग्रुपमा कार्तिक १६ गते राती सूचना आउट गरेका छन् । यो सूचनाले करार सूचीमा रहेका उम्मेद्वारलाई सूचना छलेर विज्ञापन गरेको प्रष्ट देखिएको छ ।

यस विषयमा प्रधानाध्यापक भरत राजवंशीले शिक्षा शाखाका हाकिम वेगबहादुर काफ्लेको कार्यव्यस्तताले परीक्षा ढिलो हुन भएको बताएका छन् । त्यस्तै विज्ञापन प्रकाशन बारेमा फेसबुकमा ढिलो भएपनि विद्यालय र वडाकार्यालयमा समयमै गरेको बताए ।

परीक्षा हुनु अघि नै करार सूचीका उम्मेद्वार आएमा सो त उनै नियुक्ति हुने प्रावधान हुँदा हुदै विद्यालयले जिल्लाको करार सुचि नम्बर ११६ मा रहेको वडा नं. ३ का नवराज सुवेदीलाई पनि परीक्षामा सहभागी गराएका छन् ।

परिक्षा समितिले १२ जना मध्ये लिखित परीक्षामा ६ जना सफल गराएका थिए । सफल भएका ६ जनालाई नै अन्तरर्वाता लिएका थिए । ६ जना परीक्षार्थीलाई अन्तरर्वाता लिनु गैरजिम्मेवारी भएको नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीका अध्यक्ष धर्मराज थापाले बताए । परीक्षामा सुन्दर हरैचा नगर –१० की सोभा कोइरालालाई १ नम्बरमा नाम निकाल्दै सफल बनाएका छन् । कानेपोखरी शिक्षा शाखाको शिक्षा अधिकृत वेगबहादुर काफ्लेले मोटो रकमको चलखेल गरी कानेपोखरी क्षेत्रको करार सूचीका उम्मेद्वारलाई बिज्ञापनको सूचना छलेर परीक्षा गरेको नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीका अध्यक्ष थापाले बताए ।

यस परीक्षाको बिषयमा शिक्षक महासंघ कानेपोखरीले यस अघिदेखी नै खबरदारी गर्दै आएको थियो । कानेपोखरीका शिक्षा शाखा अधिकृत वेगबहादुर काफ्लेले भने विज्ञसहितको शिक्षक छनौट समितिले राहत शिक्षक छनौट गर्ने भएकाले यस विषयमा कुनै चलखेल नभएको दाबी गरे । ‘करार सूचीका शिक्षकबाट निवेदन नपरेपछि परीक्षा भएको हो’ उनले भने, ‘विज्ञापन प्रकाशित भएको दिन म हस्पिटलमा भएकाले साइटमा हाल्न नपाएको हो ।’ अहिले शिक्षक नियुक्ति भइनसकेकोले विज्ञान आह्वानमा गल्ती भएको हुनसक्ने भएकाले सच्याउन पनि लागिपरेको उनले बताए ।

कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले राहत शिक्षकको परीक्षाको विषयमा अध्ययन भइरहेको बताए । ‘अहिले शिक्षक नियुक्ति भइसकेको छैन । करार सूचीका शिक्षकहरूको पनि कुरा आइरहेको छ’ उनले भने, ‘यसमा हामी पुनःविचार गर्नेछौँ ।’ राहत शिक्षक नियुक्ति भएपछि दिगो हुने भएकाले नियुक्ति प्रक्रियामा आर्थिक चलखेल हुने गरेको शिक्षकहरू बताउँछन् ।

सम्बन्धित खवर