कानेपोखरीमा बोलेरोलेको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१९ पुस, कानेपोखरी । मोरङको कानेपोखरीमा बोलेरो पिकअप भेनले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई कानेपोखरी चोक पूर्व मंगलबार साँझ ७ः२० बजेतिर बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएको डीएसपी श्रेष्ठले बताए । गम्भीर अवस्थाका दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ । बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खवर