प्रदेश स्तरीय कृषि उपज संकलन तथा वितरण केन्द्र स्थापन हुने

२७ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित कानेपोखरी चोकमा सामाजिक उद्यमी महिला सञ्जाल कोशी प्रदेश समितिको बैठक सम्पन्न भएको छ ।

मंगलबार बसेको बैठकले कोशी प्रदेशमा प्रदेश स्तरीय कृषि उपज संकलन तथा वितरण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । कोशी प्रदेशका साना किसान र उद्यमी महिलाहरुले उत्पादन गरेका कृषिजन्य पदार्थको बजारीकरण सहज बनाउन कृषि उपज संकलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको हो ।

बैठकले कृषि उपज संकलन तथा वितरण केन्द स्थापनाको लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय गरी प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ । कोशी प्रदेशमा केन्द्रको कार्यालय राखी अन्य स्थानहरुमा सम्पर्क कार्यालयहरु राखिने पनि सञ्जालकी संयोजक गंगा श्रेष्ठले जानकारी दिनु भयो ।

सामाजिक उद्यमी महिला सञ्जाल कोशी प्रदेश समितिका संयोजक गंगा श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, कार्यकारी निर्देशक विष्णु कुमारी नेपाल, सहसंयोजक चन्द्रकला अधिकारी, सदस्यहरु दमन्ती निरौला, रेणुका खतिवडा, फुलमाया राई, विद्या चापागाई र सवलीकरण अधिकृत कमला गौतम उपस्थित रहनुभएको थियो ।

 

सम्बन्धित खवर