२७ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ मा गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरिएको साइड ड्रेन ठेकेदारले आफै भत्काउन सुरु गरेकोछ ।
शनिबार १ सय मिटर साइड ड्रेन भत्काउन सुरु गरेको हो । अनुगमन्कै क्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बालुवा पनि माटो मिसिएको, ढुङ्गा ठुला–ठुला र सिमेन्ट प्रयोग कम भएको पाइएपछि त्यसलाई भत्काएर पुन साइड ड्रेन निर्माण गरिने बताए । त्यहाँ रहेको बालुवा र ठुला ढुङ्गा प्रयोग नगर्ने उपाध्यक्ष अधिकरीले बताए ।
गाउँपालिकाको इन्जिनियर दीपक गुरागाईका अनुसार ६–८ एमएम सम्मको ढुङ्गा प्रयोग गर्नुपर्नेमा ठेकेदार कम्पनीले १०० केजी भन्दा बढीको ढुङ्गा प्रयोग गरेर काम छिटो सम्पन्न गर्न खोजेको बताए । कम्सल सामाग्रीहरुको सबै जाँच गरी गुणस्तर ड्रेन निर्माणमा लाग्ने बताए ।
त्यहाँ निर्माण गरिएको सबै डे«न यही तरिकाले निर्माण गरेको हुन सक्ने भनेर त्यहाँका स्थानीयहरुले सबै चेकजाँच गर्न पनि माग गरेका छन् ।
वडा नं. ४ को गुरुङ चोकदेखि दक्षिण ५ सय मिटर ड्रेन निर्माण गर्न अलि विल्डर कम्पनी इनरुवाले गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा लिएको ठेक्का सडकमा विवाद आएपछि निर्माण गर्दै गरेको साइड ड्रेन ठेकेदारले छोडेको थियो । पालिकाले निर्माण सम्पन्न म्याद थप गरिदिएपछि ठेकेदार कम्पनीले यस आर्थिक वर्षमा योजना सम्पन्न गर्ने योजना रहेको थियो ।
त्यतिमात्र होइन, अलि विल्डर कम्पनी इनरुवाले वडा नं. ६ र वडा नं. ७ मा पनि ५ सय मिटरको साइड ड्रेन निर्माण गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले तीन वटाको १५ सय मिटर लगभग १ करोड १० लाखमा सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।