१४, वैशाख, बेलबारी । मोरङ बेलबारी र कानेपोखरी पालिकालाई छुट्याउने सीमा क्षेत्र चिसाङ खोलाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री वितरण कार्यमा रोक लगाइएको छ ।
ठेक्का पाएका ठेकेदार कम्पनीले आवश्यकता भन्दा बढी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गरिएपछि खोला बन्द गरिएको हो । वैशाख ९ गते दुईपालिकाको बेलबारीमा बसेको बैठकले खोलाबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको थियो । स्थानीयहरुबाट मापदण्ड भन्दा बढी गहिरो खनिएको, सम्झौता भन्दा धेरै उत्खनन, संकलन र बिक्री वितरण गरिसकेको उजुरी परेपछि पालिकाले खोला बन्दको सूचना गरेको थियो ।
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी सहित प्राविधि टोलीले खोलाको अनुगमन गरी खोला उत्खनन बन्द गर्ने बारेमा निर्णय लिएको थियो ।
उता खोलाबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपछि ठेक्का पाएका ठेकेदार कम्पनीले दुईपालिकाको प्राविधिक टोली सहित गहिराई, लम्बाई र चौडाईको नापजाप सुर गरेका छन् ।
उता ठेकेदार कम्पनीका प्रतिनिधिले सम्झौता बमोजिम अझै उत्खनन, संकलन गर्न बाँकी नै रहेको बताउँदै खोला नापजाप गरेर तथ्य निकालेर फेरी उत्खनन गर्ने बताए ।
बैठकले सीमा क्षेत्रको प्राकृतिक स्रोतको व्यवस्थापनका लागि उत्खनन कार्य रोक्ने निर्णय गरेको थियो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटद्वारा जारी सूचनामा चिसाङ खोलामा हुने नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरणमा २०८३ वैशाख ११ गतेदेखि वैशाख २१ गतेसम्मका लागि पूर्ण रोक लगाइएको सूचना जारी भएको छ ।



