योजनाहरु व्यवस्थित र चुस्त रुपमा सञ्चालन गर्न उपप्रमुखको निर्देशन

चैत ३ गते, पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालित विकास निर्माणका योजनाहरु व्यवस्थित एवम् चुस्त रुपमा सञ्चालन गर्न नगरको अनुगमन् समिति संयोजक तथा नगरका उपप्रमुख यामुना बिष्ट बास्तोलाले निर्देशन दिएको छ ।

उपप्रमुख वास्तोलाले नगरका योजनाहरु अनुगमन्का क्रममा कतिपय योजनाहरु चित्तबुझ्दो रुपमा सम्पन्न नगरेको पाएपछि त्यस्तो निर्देशन दिएको हो । उनले लागत स्टिमेट अनुरुप चुस्त रुपमा काम गरी आफ्नो गाउँ वस्तीको विकासमा स्थानीय उपभोक्ताहरुलाई लाग्न आग्रह गरेकी थिइन् ।

प्राविधिक सम्मिलित अनुगमन् समितिले २ लाख ५० हजारको लागतमा भएको वडा नम्वर ८ को विसविघे समालडाँडा तथा नेम्वाङ होली बाटोको स्तरोन्नती, ४ लाखको लागतमा तयार वडा नम्वर ९ को सिरिजंगा आधारभूत विद्यालयको पर्खाल निर्माण र खानेपानी योजनाको पनि अनुगमन् गरेको छ ।

यसैगरी, १ लाख ७२ हजार ५ सयको लागतमा ९ कै हाटखोला पश्चिम अमि शंकरको घर दक्षिण पिपलचोकसम्मको बाटो स्तरोन्नती, ६ नम्वरको शिक्षा सदन विद्यालय पश्चिममा ६ लाख ८० हजारको लागतमा निर्माण भएको कल्भर्टको पनि अनुगमन् भएको छ । सो कल्भर्टमा स्टिमेट अनुरुपको चित्तबुझ्दो काम नभएको समितिले ठहर गरेको छ । यसका साथै अनुगमन्का क्रममा २ लाख ५० हजारको लागतमा ९ नम्वरको मणिकुमार तामाङको घरदेखि काङसोरे चोक निस्कने बाटोको स्तरोन्नतीका ग्राभेल केही कम भएको पनि समितिले उल्लेख गरेको छ ।

त्यस्तै, १ लाखको लागतमा वडा नम्वर ५ स्थित अमरसिंह मावि पश्चिम झोलुङ्गे पुल जाने बाटो ग्राभेल र २ लाखको लागतमा ९ को उदय मादेनको घर हुँदै दिलिप ओख्राबुको घरसम्मको बाटो स्तरोन्नतीको कार्यपनि चित्तबुझ्दो नभएको समितिले पाएको संयोजक वास्तोलाले बताए ।

सम्बन्धित खवर