पथरीशनिश्चरे नगरमा राहत वितरण सुरु

चैत २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि दुरी कायम गरेर खाद्यान्न राहत वितरण सुरु गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहित संघ संस्था र राजनीतिक दलका प्रतिनिधि सम्मिलित ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’ र राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण थालिएको हो ।

आइतबार वडा नम्वर ८ मा २ सय २२ र ९ मा १ सय ८६ घर परिवारलाई राहत वितरण गरिएको थियो । २ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा सर्वपक्षीय रुपमा बनेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ ले राहत व्यवस्थापन र वितरण समिति र वडा तहका समितिमार्फत वडा वडामा राहत वितरणको योजना बनाएको थियो ।

नगरको राहत कोष तथा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद र वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरुबाट वितरण गरिन थालिएको छ । राहत कोषको बैंक खातामा २ लाख ३५ हजार रुपैयाँ जम्मा भएको छ ।

सम्बन्धित खवर