असार १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य सुरु भएको छ ।
नगरको वडा नम्वर २ मा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी र ९ मा शनिश्चरे स्वास्थ्य चौकी आफ्नै भवनमा रहेका छन् । त्यस बाहेकका वडाका लागि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सुरु भएको हो ।
यस क्रममा सोमबार वडा नम्वर १ का लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा रहेको शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले भवनको शिलान्यास गरेका हुन । ६३ लाख रुपैयाँको लागतमा ६ कोठाको भवन वन्ने भएको हो ।
त्यसैगरी आजै, वडाध्यक्ष सागर राईमार्फत वडा नम्वर १० को आधारभूत स्वास्थ्य केन्द्र भवनको पनि शिलान्यास गरिएको छ । त्यहाँ ३२ लाखको लागतमा ४ कोठाको भवन वन्ने भएको छ । त्यसैगरी वडा नं. ६ मा पनि ६३ लाख रुपैयाँको लागतमा आधारभूत स्वास्थ्य केन्द्रको ६ कोठाको भवन वन्ने भएको हो ।
तीन वटै वडाको आधारभूत स्वास्थ्य केन्द्रको भवन एचएमवि विल्डर कम्पनीले निर्माणको ठेक्का लिएको छ । सो कम्पनीले दुई बर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।