मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

असोज ४ गते, काठ्माडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ । यस्तै शान्ति ठटाललाई जगदम्बा श्री अर्पण गरिने भएको छ । छ दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा समर्पित रही गीत सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले ठाटाललाई जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको हो ।

मदन पुरस्कारका लागि गुठीमा प्राप्त १५१ पुस्तकहरू मध्येबाट सात पुस्तकहरू क्रमशस जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १-३० (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित बिष्ट) र यात्रामा (शारदा शर्मा) मदन पुरस्कार सूची २०७६ का रूपमा छनौट भएका थिए ।

२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृतिू, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

२०४५ मा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो ।

कोभिड १९ का कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै मदन पुरस्कार तथा जगदम्बा श्री सम्मान समारोहको कार्यक्रम विवरण पछि सार्वजनिक गरिने जनाइएको छ । नागरिकबाट

सम्बन्धित खवर