सिंहदेवी माविमा एक बर्षे स्वर्ण महोत्सव सुरु

राजकुमारी तामाङ

फागन ९ गते, पथरी । मोरङको कानेपोखरी ५, स्थित जहदामा रहेको सिंहदेवि माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव सुरु भएको छ । एक बर्ष सम्म चल्ने स्वर्ण महोत्सवको शुक्रबार कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका थिए ।

विद्यालयले महोत्सव सफल बनाउनको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजकुमार राई संयोजक र विद्यालयको प्रधानाध्यापक धर्मराज थापा सदस्य सचिव रहनेगरी १९९ सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यसैगरी ढेंड दर्जन उपसमिति गठन गरी काम अघि बढाएको छ ।

कार्यक्रममा विद्यालयकी शिक्षिका दिलकुमारी राईलाई २०७६ को वर्ष शिक्षक घोषणा गरि पुरस्कार प्रदान गरिएको छ । यस्तै विद्यालयमा वर्षभरिमा एकदिन पनि बिदा नबस्ने शिक्षिका डम्बरकुमारी गुरुङलाई विद्यालयले सम्मान गरेको छ ।

स्वर्ण महोत्सवको अवसरमा तीन परिवारले स्वर्गीय आफ्न्तको नाममा अक्षयकोषको स्थापना भएको छ । वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले स्वर्गीय माता उत्तर कुमारी गुरुङको स्मृतीमा विद्यालय हातभित्र सरस्वतीको मन्दिर निर्माण र अक्षयकोष स्थापनाको लागि ५ लाख, ११ हजार, १ सय ११ रुपैया, विद्यालयका प्रधानाध्यपक धर्मराज र इन्द्र थापाले आफ्नो स्वर्गीय बुबा र आमाको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाको दिलहर्क थापा स्मृति अक्षयकोष र युवा समाजसेवी भोजराज श्रेष्ठ र भुपाल श्रेष्ठ दाजुभाईले आफ्ना स्वर्गीय बुबा सुनकेसर श्रेष्ठको नाममा ५५ हजार ५ सय ५५ रुपैयाको सुनकेसर स्मृति अक्षयकोष स्थापना गर्दै सो रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

यसअघि विद्यालयमा ८ वटा अक्षयकोष रहेका छन् । गरिव जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापनामा जोड दिइएको विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताएका छ्न ।

 

सम्बन्धित खवर