नमुना विद्यालयको भवन सांसद भानुभक्त ढकालद्धारा शिलान्यास

असार १७ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–६, स्थित नमुना विद्यालय जनसेवा माविको बहुबर्षिय नमुना तीन तले भवन शिलान्यास भएको छ ।

विहिबार जनसेवाको खाली रहेको जग्गामा मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालले नमुना भवनको शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद ढकालले नाम मात्रै नमुना नभई साँचिकै नमुना भवन, विद्यालयको पठनपाठन नमुना र विद्यालय नमुना हुनु पर्ने बताएका थिए । गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले, प्रधानाध्यपक दामोदर सिग्देल, सहायक प्रधानाध्यपक प्रमोद निरौला, शिक्षक, गाउँपालिका कर्मचारी, एमाले प्रदेश सदस्य भेषनाथ रिजाल लगाएतको उपस्थितमा शिलान्यास भएको थियो ।

सांसद भानुभक्त ढकाल कानुन मन्त्री हुँदा क्षेत्रगत पहलमा शिक्षा मन्त्रालयबाट २०७७ असार ३१ जनसेवा माविलाई नमुना विद्यालयको रुपमा सरकारले घोषणा गर्न सफल भएको थियो । संघीय सरकारले आर्थिक बर्ष २०७८÷०७९ मा बहुबर्षिय योजना अन्तरगत ४ करोड ९९ लाख ६ हजार ३ सय रुपैया बजेट विनियोजन गरेका थिए । भवनको ठेक्का खुलाएपछि धनकुटाको सारा सृष्टी निर्माण सेवा प्रालिका संचालक सन्तबहादुर राईले ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।

जनसेवा माविलाई नमुना विद्यालयको सुचिमा पार्न सांसद भानुभक्त ढकालको मुख्य भूमिका रहेको प्रधानाध्यपक दामोदर सिग्देलले बताए । नमुना भवन ३ तले र २४ कोठे भवन बन्न लागेको हो । अहिले कक्षा ११ र १२ पनि कक्षा संचालनमा छन् । विद्यालमा यस अघिनै स्कुल बस आइसकेको छ । कक्षा १२ सम्म १३ सय छात्राछात्रले अध्ययन गरिरहेको छ । प्राविधक तर्फ कक्षा ९ देखी कक्षा १२ सम्म नै बाली विज्ञान, कक्षा ११ र १२ मा म्यानेजमेन्ट र एजुकेशन प्याकल्टीमा कक्षा भईरहेको छ ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ३ का वडा अध्यक्ष गोपाल कार्की, जनसेवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम पौडेल, उपस्थित रहेका थिए । त्यसैगरी नेकपा एमाले जिल्ला सदस्य दान बहादुर बस्नेत र नविन पौड्याल, ६ नं. पार्टी अध्यक्ष कुमार फुयल, नेपाली कांग्रेस प्रतिनिधि देवेन्द्र थापा अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर