शनिबार, भदौ २८, २०८२

एमाले कोशी प्रदेश अधिवेशनः उम्मेदवारका पक्षमा विभाजित हुँदै नेतृत्व

असोज १२, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमाले कोशी प्रदेश अधिवेशन प्रचारप्रसार उपसमितिले तयारी सम्पन्न भएको जनाएको छ ।

प्रदेश अधिवेशनको लागि ९९७ जना प्रतिनिधि प्रदेशभरीबाट निर्वाचित भइसकेका छन् । भने त्यसको ५ प्रतिशत अर्थात ५० जना मनोनयन गर्ने या नगर्ने एकिन भइनसकेको कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । पत्रकार सम्मेलनका अध्यक्ष प्रचारप्रसार उपसमितिका संयोजक शैलेश लामाले पार्टीभित्रको अधिवेशनमा घेराबन्दी हुन नहुनेमा जोड दिए ।

नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुबिर महासेठले सकेसम्म सर्वसहमत नेतृत्व चयन गर्ने अन्यथा निर्वाचन प्रकृयाबाट उम्मेदवार चयन गरिने बताए । उनले पार्टी नेतृत्वले कसैलाई लाइन दिने र कसैलाईन नदिने भन्ने नहुने भन्दै उनले प्यानलसहित निर्वाचन लड्न बर्जित गरिएको बताए । उनले पार्टीका नेताहरु कसैको पक्षमा नलागेको दावी गरे ।

कोशी प्रदेशको अधिवेशन शुक्रबार र शनिवार कोशी प्रदेशको राजधानी विराटनगर स्थित होटल मनास्लुमा हुँदैछ । अधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधिहरु विराटनगर आइसका छन् । यहिबिचमा उम्मेदवारका आकांक्षी रहेका मध्ये नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र नेता घनश्याम खतिवडाको नाममा नेताहरु विभाजित हुँदै गएका छन् । ढकाल र खतिवडासँगै एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङ पनि अध्यक्षको उम्मेदवारका आकांक्षी हुन् ।

चारजना आकांक्षी भएपनि यतिबेला नेकपा एमालेमा कोशी प्रदेशबाट नेतृत्व गर्ने स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेताहरु ढकाल र खतिवडामा विभाजित भएको एक नेताले बताए । उनका अनुसार अधिवेशन नजिकिँदै जाँदा नेताहरु पनि आ–आफ्ना उम्मेदवारका पक्षमा खुल्ने क्रम शुरु भएको छ । यतिबेला खतिवडाका पक्षमा नेकपा एमालेका स्थायी कमिटीका सदस्यहरु भानुभक्त ढकाल, हिक्मत कार्की, बिशाल भट्टराई र सुनसरी एमालेका अध्यक्ष रेवतीरमण भण्डारी खतिवडाको पक्षमा खुलेर लागेका छन् ।

यस्तै ढकालका पक्षमा स्थायी कमिटी सदस्यहरु शेरधन राई, गुरु बराल, भीम आचार्य, राजेन्द्र गौतम जिवन घिमीरे, नरेश पोखरेल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको समर्थन खुल्दै गएको नेकपा एमालेका एक प्रदेश सदस्यले बताए । सुनसरीका एक प्रतिनिधिले नाम नखुलाउने सर्तमा भने,‘यहाँ त नेताहरुले कसैको लागि भोट माग्न नभई यसलाई चाँही हुन्न है भन्दै फोन समेत गर्न थालेका छन् ।’ उनका अनुसार पार्टी अध्यक्षले पार्टीमा कुनै गुट छैन भनेपनि दोस्रो तहका नेताहरु आ–आफ्नो शक्ति प्रदर्शनमा लागेका छन् । आकांक्षी रहेका नेताहरुमध्ये तुलसीप्रसाद न्यौपाने बाहेकले भने मिडियालाई कुनै प्रतिकृया दिइरहेकका छैनन् । न्यौपानलेले पत्रकारको जिज्ञासामा पार्टी नेता र कार्यकर्ताको सल्लाह अनुसार उम्मेदवारी दिने नदिने निर्णय गर्ने भनेपनि अन्यले बोलेका छैनन् ।

अध्यक्ष केपी शर्मा ओलीले कस्लाई संकेत गर्छन् भन्ने आशामा आकांक्षीहरु रहेको स्रोतको दावी छ । अध्यक्षले उपयुक्त उम्मेदवारलाई समर्थन नभए सहमति जुट्न नसक्ने स्रोत बताउँछ । पार्टी अध्यक्षको गृह प्रदेश कोशीमा सर्वसहमत नेतृत्व चयन हुन्छ कि हुँदेन भन्ने प्रश्न यतिबेला जटिल बन्दै गएको छ । अध्यक्षको मौनताले पनि यस प्रदेशमा सर्वसहमत नेतृत्व चयन गर्न अधिकतम प्रयत्न हुनसक्ने नेताहरुको बुझाई छ । यहिबिचमा दोस्रो तहका नेताहरुले विभक्त हुँदै लबिङ गर्ने मात्र नभई ‘बा’ को लाईन भन्दै प्रतिनिधिसँग भोट माग्न थालेपछि सहतिको सम्भावना समेत क्षिण बन्दे गएको छ ।

खतिवडा र ढकाल को बलियो ?
प्रथम कोशी प्रदेश अध्यक्षका प्रमुख दुई दाबेदार घनश्याम खतिवडा र विनोद ढकाल दुवै मोरङका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित खतिवडा सादगी नेताका रुपमा परिचित छन् । उक्त प्रतिनिधिसभा अघि पार्टीभित्र माधवकुमार नेपाल समूहमा रहेका खतिवडा ओली समूहमा प्रवेश गर्दै उम्मेदवार बनेर विजयी भएका थिए । यस्तै २०७९ को प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर १ मा कांग्रेस नेता डिगबहादुर लिम्बुसँग पराजित खतिवडाले पार्टीको मुख्य नेतृत्वको जिम्मेवारी वहन गरेका छैनन् ।

नेकपा एमाले मोरङको ५ औं अधिवेशनमा माधवकुमार नेपाल पक्षबाट अध्यक्षको उम्मेदवार बनेका खतिवडा ओली गुटका नेता विनोद ढकालसँग पराजित भए । जनप्रतिनिधिका रुपमा स्वच्छ छवि बनाएका खतिवडा कार्यकर्ताका बिचमा भने त्यति प्रभावशालि बन्न सकेनन् । यस अधिवेशनमा भने उनका पक्षमा नेताहरु खुल्ने क्रम बढेको छ ।

यसैगरि नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका विनोद ढकाल जन निर्वाचित हुन सकेका छैनन् । तर पार्टी भित्र भने मदन भण्डारीको पालादेखि यस गुटमा रहेका छन् । मोरङ जिल्लामा ओली गुटका ‘पिल्लर’ मानिने ढकालले मोरङ जिल्लाको दुई दुई कार्यकाल नेतृत्व गर्दा पार्टीलाई अब्बल बनाएका थिए । नेकपा एमालेका एक नेता भन्छन्, ‘विनोद ढकालले नेतृत्व गर्दाको जस्तो पार्टीको हाईट फेरि हुन सकेको छैन ।’ उनका अनुसार ढकालमा सवैसँग समन्वय गर्न सक्ने कौशलता मात्र होइन, आवश्यकता पर्दा केन्द्रीय अध्यक्षको जस्तो नेता कार्यकर्ताको संरक्षण गर्ने क्षमता पनि छ । स्पष्ट वक्ताका रुपमा परिचित ढकाल कार्यकर्ताको माझमा भने लोकप्रिय मानिन्छन् । युवा, विद्यार्थी, अनेमसंघलगायतका पार्टीका सबै जनवर्गीय संगठनमा घुलमिल रहने ढकाल युवापुस्ताका प्रिय नेताका रुपमा चिनिन्छन् । यद्यपी नेताहरुको सामिप्यता मात्रै खोज्ने स्वभाव ढकालमा नरहेकाले उनलाई केहि चुनौती रहेको उनी निकट एक नेताले बताए । उनले भने, ‘अध्यक्षले वास्तविकताको अध्ययन गर्ने हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.