उत्तम राई
फागुन ११ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ७ नम्बर वडालाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक नागरिकलाई रासायनिक मल र विषादी प्रयोग नगरी गाउँमा नै निर्माण गरिएको प्राङ्गारिक मल र अग्र्यानिक औषधिको प्रयोग गरेर खेती गर्न पे्ररणा दिने उद्देश्यले कृषकलाई एकदिने तालिम सम्पन्न भएको हो ।
वडाकार्यालयको सहयोग र भूल्के मिडिया प्रालिको आयोजनामा सोमबार अग्र्यानिक खेती तथा विषादी न्यूनिकरण सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिममा वडाका ४० जना कृषकले सहभागिता जनाएको थियो । तालिमलाई उचित जैविक मल उद्यो संचालक तथा प्राविधि कृष्ण चन्द्र महर्जनले सहजिकरण गरेका थिए ।
सहजकर्ता महर्जनद्धारा विषादी युक्त उत्पादित खानाले पर्ने असरको बारेमा र अग्र्यानिक खेती गर्ने तरिका, प्राङ्गरिक मल बनाउने तरिकाका साथै कम्पोष्टमल, गोठेमल, गड्यौलेमल, हरियोमल, झोलमल बनाउने तरिकाका बारेमा जानकारी गराईएको थियो ।
७ नम्बर वडालाई कसरी रासायानिक मल विषादीरहित खेती गर्न सकिन्छ भनेर यो प्रशिक्षणको कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका वडाध्यक्ष मोहन प्रसाद अधिकारीले अग्र्यानिक खेती गर्न चाहने कृषकलाई वडाबाट पनि विशेष सहयोग गर्ने बताए । उनले आगामी बर्षमा अग्र्यानिक खेती सम्बन्धि विशेष प्याकेज सहित बजेट विनियोजन गर्ने बताए ।
तालिममा सहभागी कृषकलाई एक–एकवटा ड्रागन फल र कागतीको विरुवा सहित प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रम भूल्के मिडिया प्रालिको अध्यक्ष मोहन भट्टराईको सभापतीत्वमा भएको थियो ।