असार २२, जहदा । मोरङको कानेपोखरी गाउँपालिकाले चिसाङ खोलाबाट अवैधरुपमा गिटी बालुवा निकाल्दै गर्दा ४ वटा ट्याक्टरलाई नियन्त्रण लिई कारवाही गरेका छन् ।
गाउँपालिकाका नगरप्रहरी प्रमुख युवराज भूजेलको नेतृत्वको टोलीले विहिबार राती ८ बजे चिसाङ नाकाबाट लोड गर्दागर्दै पक्राउ गरेको हो । पक्राउ पछि शुक्रबार गाउँपालिकामा प्रत्येक ट्याक्टरको १५ हजारको दरले जरिवाना तिरेपछि ट्याक्टर छाडिएको थियो । उनीहरले ४ वटा ट्याक्टरको ६० हजार रुपैया जरिवाना बुझाएका थिए ।
सबै ट्याक्टर वडा नं. ५ को हो । प्रकास मगरको को २ त ३८५, योगेश अधिकारीको को २ त ११६९, राम तामाङको प्र. नं १–०२–००३ त र सविन मगरको को २ त ६९९२ नम्बर को ट्याक्टरहरु लोड गर्दा गर्दै पक्राउ गरिएको नगर प्रहरी प्रमुख भूजेलले बताए ।
उनीहरुले अवदेखि त्यस्तो अवैध काम नगर्ने बाचा गर्दै जरिवान तिरी ट्याक्टर लगेका छन् । खोला असार १ गतेदेखि बन्द रहेको छ । तर त्यहाँ खोला छेउछाउकाहरुले राती राती गिटी बालुवा अवैधरुपमा निकाल्ने गर्दै आएको सूचना पछि नगरप्रहरीले रात्रीकालिन गस्ती गर्दै आएको थियो ।