लघुकथा समाज कोशी प्रदेशद्वारा चारजना लघुकथाकार सम्मानित

भदौ ९, विराटनगर । लघुकथा समाज कोशी प्रदेश समितिले चारजना लघुकथाकारलाई नगदसहित सम्मान गरेको छ ।

समाजले आयोजना गरेको राष्ट्रिय लघुकथा प्रतियोगितामा विजयी हुने कथाकारहरुलाई शनिबार विराटनगरमा आयोजित विशेष समारोहमा सम्मान गरेको हो । प्रतियोगितामा कमला पन्थी प्रथम, मनिषकुमार शर्मा ‘समित’ द्वितीय, निरज कोइराला तृतीय र विन्दु अधिकारी चौथो भएका थिए । उनीहरु सबैलाई विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कृत तथा सम्मानित गरिएको थियो । लघुकथा समाज नेपालको १६ औं वार्षिकोत्सवमा अवसर पारेर कोशी प्रदेश समितिले लघुकथा प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल, लघुकथा समाजका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, कोशी अध्यक्ष ममता मृदुल, अग्रज पत्रकार एवं साहित्यकार शंकर खरेल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले खादा, मालासहित सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

प्रतियोगितामा देश तथा विदेशबाट ६५० वटा लघुकथा प्राप्त भएकामा उत्कृष्ट ३३ लघुकथा छनौट गरिएको थियो । ३३ जना उत्कृष्ट लघुकथाकारमध्येबाट चारजनालाई नगदसहित पुरस्कृत गरिएको समाजकी प्रदेश अध्यक्ष ममता मृदुलले जानकारी दिए । पछिल्लो समय लघुकथा लेखनतर्फ स्रष्टाहरुको आकर्षण बढ्दै गएको कार्यक्रमका वक्ताहरुले बताएका थिए । सो अवसरमा प्रतियोगितामा पुरस्कृत लघुकथासमेत वाचन गरिएको थियो ।

सम्बन्धित खवर