पथरीमा माओवादीद्वारा सहिद परिवार सम्मान

फागुन १० गते, पथरी । पथरीशनिश्चरे—५ मा राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ ।

मंगलबार माओवादी केन्द्रको ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नि लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा कांग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा दधिराम कुइँकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेश सभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।

माओवादी केन्द्र ५ नम्बर वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको नगरको सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरुलाई भुल्दै जाने अवस्था आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहिद सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले ज्यान गुमाएका थिए । २८ औं जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए ।

सम्बन्धित खवर