१५ असार, पथरी । मोरङको पथरी शनिश्चरेका लोकसागर सम्बाले नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा भएको खुल्ला कविता प्रतियोगितामा साम्बा प्रथम घोषित भएका थिए । बिजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ ।
साम्बा बुद्धिचाल(चेसं) को राष्ट्रिय खेलाडी समेत हुन । राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान आउन सफल साम्बा, बुद्धिचालकै पथरीशनिश्चरे नगर, मोरङ जिल्ला च्याम्पियनहुँदै राष्ट्रिय पुरस्कारसम्म जित्न सफल भएका खेलाडीसमेत हुन ।
कविता प्रतियोगितामा तीन चरणको प्रतिष्पर्धा गराइएको थियो । पहिचोचरणमा प्रथम भएका साम्बाले ‘यहीनेर म अनागरिक’, दोस्रो चरणमा ‘यसरी देश छोडेँ’ र लाइभ लेखन चरणमा ‘झरीसँग प्रेम’ शीर्षकको कविता लेखेर दमदार प्रस्तुत गरेका थिए ।
पहिलो चरणमा २४ जनाबाट १० जना छानिएको थियो । दोस्रो चरणमा ४ जना र ४ जनालाई ‘झरीसँग प्रेम’ शीर्षकमा कविता लेख्न दीएको थियो ।
प्रतियोगितामा प्रसुना तिम्सिना रेडस्टार बोर्डिङ स्कुलबाटं, लाजिमा सुन्दास सिंहबाहिनी माविबाटं, पवित्रा खनाल सिंहबाहिनी माविंबाट क्रमस दोस्रो, तेस्रो र सान्वना पुरस्कार जितेका थिए । बिजेतालाई १०, ५ र २ हजार नगद र प्रमाण –पत्र प्रदान गरिएको आयोजक समितिको अध्यक्ष अमिर राईले बताए ।
कार्यक्रममा नगरका पुराना मूर्तिकार कृष्णभक्त गजमेरलाई नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा नाटक ‘स्कुल प्रदर्शन’ प्रदर्शन गर्नुको साथै विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । प्रतियोगिताको निर्णाय हेमन यात्री, विष्णुप्रसाद न्यौपाने, किशोर कोइराला, खगिन्द्र खुशीले गरेका थिए ।
पथरीशनिश्चरे नगरका पूर्ब नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको प्रवक्ता नवीन कार्की, २ नं. वडा अध्यक्ष नैना राई, ७ का अध्यक्ष उद्धप बस्नेत, पथरीबहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, साहित्यकार तथा पत्रकार भूपेन्द्र तिम्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार तथा शिक्षक सुमन राई, विद्रोही कान्छा (अशोक साम्पाङ) लगायतले अप्रतियोगि रचना वाचन गरेका थिए ।
कार्यक्रम सफल पार्न साहित्यकार लक्ष्मीप्रसाद फुयाल, टेलि सिरियल निर्देशक हरेन्द्र खत्री, नाटक लेखक निर्देशक जीवन बराल लगायतको सक्रियता रहेको थियो ।