१६ बैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा खुल्ला ‘प्रथम पथरी शनिश्चरे सिङ्गिङ र डान्सिङ आइडल’ प्रतियोगिता हुने भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोग र साहित्य प्रवद्र्धन समितिको आयोजनामा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता हुने भएको हो । आयोजकले पथरी बजारमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बैशाख २६ गतेदेखि पहिलो चरणको अडिसनबाट प्रतियोगिता प्रारम्भ हुने बारेमा जानकारी गराएका थिए ।
प्रतियोगिता चार चरणमा सम्पन्न हुनेछ जसमा अडिसन, सेलेक्सन, फाइनल र ग्राण्ड फिनाले चरण हुनेछ । चार चरणको हुने प्रतियोगिताको पहिलो चरण बैशाख २६ गते हसन्दह बजारमा र २७ गते पथरी बहुमुखी क्याम्पसमा हुने भएको छ ।
त्यस्तै दोस्रो चरण जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा दुवै विद्याको २०–२० जना छनोट हुनेछन् । त्यस्तै तेस्रो चरण जेठ १० गते एभरेष्ट स्कुलमा दुवै विद्याको १०–१० जना छनौट हुनेछ । त्यस्तै जेठ २४ गते हरियाली सामुदायिक वनको हलमा चौथो चरण तथा समापन हुने समितिका अध्यक्ष धनराज राई(अमिर)ले बताए ।
प्रतियोगिताको विजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । सिङ्गिङ र डान्सिङ दुबै विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आयोजक समितिका अध्यक्ष धनराज राई(अमिर) र सचिव लक्ष्मीप्रसाद फुयाँलले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पूर्णलाई अनुरोध गरेका छन् ।