कृषि तथा पशुपालन परियोजनाको लागि जग्गाको बारेमा छलफल

भदौ २९ गते पथरी । मोरङको पथरीशनिश्चरे–१० मा रहेको भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि सञ्चालन गर्ने कृषि तथा पशुपालन परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा आज छलफल भएको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले सञ्चालन गर्ने परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा इच्छुक जग्गादातासँग छलफल गरिएको हो । १० नम्वर वडा कार्यालयको संयोजनमा नगरको कृषि शाखामार्फत लुथरन विश्व फेडेरेशन दमकका प्रतिनिधि र इच्छुक जग्गाधनीहरुबीच छलफल भएको कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयाँल आचार्यले जनाए ।

छलफलका क्रममा वडा नम्वर १० मा २ ठाउँको गरी १० विगाहा र वडा नम्वर ४ र ९ अन्तर्गत भागिरथ माद्यामिक विद्यालयको ३ विगाहा जग्गाका सम्वन्धमा छलफल भएको छ । जग्गाको भाडा निर्धारण तथा समूह निर्माण लगाएका विषयमा अर्काे बैठकमा पुनः छलफल हुने छ ।

पथरीशनिश्चरे १० मा रहेका शरणार्थी र विशेष गरी सो वडा र आसपासका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । परियोजना सञ्चालनका लागि युएनएचसीआर, लुथरन, पथरी शनिश्चरे नगरपालिकाबीच सम्झौता भइसकेको छ ।

कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम व्यवस्थापनमा लुथरनमार्फत युएनएचसीआरले सघाउने भएको हो । जसमा शरणार्थी र स्थानीयको बराबरी सहभागितामा बढीमा १ सय परिवार आवद्ध बनाई समूह निर्माण गरेर परियोजना अघि बढाइने छ ।

सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराइएको छ ।

सम्बन्धित खवर