नगरमा दोस्रो दिन ५४ वटा कुकुरलाई रेविज विरुद्ध खोप

पुस २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखामार्फत घरपालुवा कुकुर र विरालोका लागि रेविज विरुद्ध खोप लगाउने कार्यक्रम आज वडा नम्वर १ र १० मा सञ्चालन भएको छ ।

पथरीशनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहित थालिएको खोप अभियानमा आज दोस्रो दिन ५४ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहले जनाए । १० नम्बरमा कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले र १ नम्बरमा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले कुकुर धनीलाई खोपको कार्ड वितरण गरेका थिए ।

हिजो पहिलो दिन वडा नम्वर ४ र ९ मा गरी ६२ वटा कुकुर र ४ वटा विरालोलाई खोप लगाइएको थियो । भोली २४ गते २ र ३, २६ गते ५ र ६, २७ गते ७ र ८ नम्वर वडामा खोप लगाउने कार्यक्रम छ । खोप लगाउने कार्य वडा कार्यालयको प्रांगणमा सञ्चालन गरिने छ ।

यसैगरी, पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सुरु भएको विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर आज वडा नम्वर २ मा सम्पन्न भएको छ । शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै अपाङ्गता परिचयपत्र निर्माण तथा नविकरणको काम समेत गरिएको छ ।

सम्बन्धित खवर