तस्विर फायल
२७ कार्तिक, कानेपोखरी । हाँस हराएको बिषयमा विवाद हुँदा देवरले आफ्नै भाउजूलाई खुकुरी प्रहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
मोरङको कानेपोखरी–४ स्थित बयरवन बजारमा बस्दै आएकी बर्ष ५५ की शिवमाया श्रेष्ठ(मग्राती) लाई खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहार गर्ने देवर बसन्त मग्रातीलाई गत शनिबार राती ९ः३० बजे प्रहरीले नेपाल टोलबाट पक्राउ गरेको हो ।
शनिबार बजारको दिन साँझ ६ः३० बजे घरमा हाँस हराएको बिषयमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि देवरले धारिलो हतियार खुकुरी प्रहार गरेको थियो । खुकरी प्रहारबाट शिवमायाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई तत्काल उपचारका लागि विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा भर्ना गरिएको थियो ।
घटना पछि उनी भागेका थिए । गाउँलेहरु भेला भई उनको खोजी कार्य तिब्र भएपछि लुकेर बसेको बसन्त मग्राती आफैले प्रहरीलाई खबर गरी बोलाएको त्यहाँका स्थानीयहरु बताउँछन् । उनी पेशाले सवारी चालक बयरवनको घर बाहिर बस्दै आएका थिए । बयरवनको घर आएको धेरै समय नभएको त्यहाँका स्थानीहरुले बताए ।
शिवमाया श्रेष्ठ(मग्राती)को श्रीमान डेढ बर्ष अघि मृत्यु भइसकेको छ । उनि पनि टिफर चालक थिए ।
खुकुरी प्रहारबाट भाउजू शिवमाया गम्भीर घाइते भएको रमाइलो स्थाई प्रहरी चौकीका सई मोहन प्रसाद प्रधानले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।