भदौ २९, पथरी । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा प्याब्सन कानेपोखरीको आयोजनामा प्रभातफेरी तथा ऐतिहासिक कानेपोखरी अध्ययन अवलोकन कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन कानेपोखरी गाउँपालिका समितिमा आवद्ध ८ वटा विद्यालय सहभागि भएका थिए ।
७ वटै वडाबाट ८ वटा विद्यालयका विद्यार्थीहरु वडा नं. ६ को मंगलबारे बजारदेखि र्याली सुरु गरेर गाउँपालिका हुँदै रमाइलो चोक परिक्रमा गरी उत्तरबाट ऐतिहासिक कानेपोखरी पुगेका थिए । विद्यार्थीहरुले आआफ्नो विद्यालयको व्यानर सहित प्लेकार्ड बोकी र्यालीमा सहभागि भएका थिए ।
प्याब्सन कानेपोखरीको यो पहिलो कार्यक्रम भएको अध्यक्ष गुरुङले बताइन् । विद्यार्थीलाई गाउँपालिकाकै नाम राखिएको ऐतिहासिक कानेपोखरी देखाउन र त्यहाँको वातावरण सम्बन्धी बालबालिकालाई जानकारी गराउन त्यहाँ लगिएको बताए ।